उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म हो  पूर्वराष्ट्रपति डा यादव

Yugnepal     627 पटक पढिएको    

उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म हो  पूर्वराष्ट्रपति डा यादव

काठमाडौं। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन्।

समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहको ‘कृति संविधान निर्माण घटना र अनुभूति’ को आज यहाँ विमोचन गर्दै उनले भने, “२०६२(६३ सालको मात्र नभई नेपाली जनताको ७० वर्षको बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म हो।” 

पूर्वराष्ट्रपति यादवले भने, “कतिपय शक्तिले संविधानसभा नै भङ्ग गर्न खोजिरहेको निकै अप्ठ्यारो समयमा कतिपय जातजाति र समुदायले उठाएका मुद्दा नसमेटिए पनि सबैको भावनालाई संविधानले आत्मसात गरेको छ, त्यसैले यो उपलब्धिको रक्षा गर्न राजनीतिक दलले निकै सोच विचार पुर्‍याएर काम गर्नुपर्छ।

संवैधानिक निकाय र न्यायालयमा सही मान्छेको छनौट भएको छ कि भागबण्डामा भनी प्रश्न गर्दै उनले सरकार र राजनीतिक दललाई अविश्वासको वातावरण अन्त्य गरी जनताको कुरा सुनेर काम गर्न आग्रह गरे। 

तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान सबै राजनीतिक दलबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा रहेकाले सबैले उठाएका मुद्दा र विषय समेटिएको बताए।

उनले भने, “संविधानमा परेका सबै विषयवस्तु निकै सोच र विचार गरेर राखिएको हुनाले संविधानमा कुनै त्रुटि र खराबी छैन, कसरी कार्यान्वयन गरेर अघि बढने सन्दर्भमा राजनीतिक दलका पदाधिकारीको क्षमता, वुद्धि र विवेकमा भरपर्दछ।”

नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारीले गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशी सिद्धान्त नचाहने पक्षबाट मात्र संविधानबारे टिक्काटिप्पणी हुने गरेको स्पष्ट पारे। सांसद प्रेम आलेले संविधानले नेपालको भौगोलिक र जातीय विविधतालाई समेटेको बताए। 

नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष शम्भु थापाले लेखिएकै आधारमा मात्र संविधान, मूल कानून र रटान गरेकै आधारमा लोकतन्त्रको सही अभ्यास हुँदो रहने छ भन्ने विषय कतिपय घटनाले पुष्टि गरिरहेको धारणा व्यक्त गरे। उनले भने, “न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकाले लोकतन्त्र र गन्तन्त्रको संस्थागत विकासमा जोड दिनुपर्ने आवश्यकता औल्याए।

संविधानविद् डा भिमार्जुन आचार्यले कामभन्दा बोल्न बढी रुचाउने नेपाली राजनीतिक नेताबीचमा कही कतैबाट पनि प्रभावित नभई सरल र स्पष्ट भाषामा संविधानको व्याख्यात्मक टिप्पणीकै झल्को दिने पुस्तक प्रकाशित गरेर नेता सिंहले संविधान निर्माणका बेलाको घटना र अनुभूति पस्कन सफल भएको बताए।

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले संविधानसभाबाट संविधान जारी गर्न सफल भए पनि संविधानले सबै तह तप्का र समुदायका मुद्दालाई सम्बोधन गर्न नसकेको भनी गुनासो गरे। पुस्तका श्रष्टा सिंहले नेपाली जनताको ठूलो बलिदानबाट गठन भएको संविधानसभाबाट युगान्तकारी घटनाको रुपमा भएको संविधान निर्माण र जारी हुँदाका बखतका घटना र अनुभूतिलाई समेटिएको पुस्तकले भावि पुस्तालाई नेपालको संवैधानिक इतिहास बुझ्नमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

संविधान निर्माण र  कार्यान्वयनसम्बन्धी ऐतिहासिक घटनाक्रमलाई लिपिबद्ध गरिएको उक्त पुस्तकमा संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, संसदीय दलका नेता, संसदीय समितिका सभापति, संविधान निर्माणको अविष्मरणीय घटना र स्मरणीय व्यक्तित्वको भूमिका र विश्लेषणलगायतका विषयवस्तु समावेश गरिएको छ।

संविधान निर्माण र कार्यान्वयनसम्बन्धी छरिएर रहेका हजाराँ तथ्य र तथ्याङ्कलाई एकीकरण र सम्पादन गरी उक्त पुस्तक तयार गरिएको लेखक सिंहले बताए।



आइतबार ०८, भदौ २०७६ ०१:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.