लामिछानेसहित तीन जनालाई थप ५ दिन हिरासतमा राख्न आदेश

Yugnepal     697 पटक पढिएको    

लामिछानेसहित तीन जनालाई थप ५ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । न्युज २४ टेलिभिजनका सीधा कुरा जनतासँग कार्यक्रममा सञ्चालन पत्रकार रवि लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न चितवन अदालतले आदेश दिएको छ । रवि लामिछानेसहित अस्मिता कार्की र युवराज कँडेल ३ जनालाई थप ५ दिन हिरासतमा  राखेर अनुसन्धान गर्न म्याद थप भएको हो।

यसअघि शुक्रबार लामिछाने सहित ३ विरुद्धको थुनछेक बहसपछि ५ दिन थुनामा राख्ने आदेश दिईएको थियो । ५ दिनको समय आज सकिएपछि थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको हो ।   पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीबार काठमाडौंबाट रविसहित ३ जना पक्राउ परेका थिए।

जिल्ला अदालतमा प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए भने रविलगायतको पक्षबाट अधिवक्ता सुनिल कुमार पोखरेलसहितले बहस गरेका थिए।

न्युज २४ टेलिभिजनको कार्यलयबाट लामिछानेसहित अर्का पत्रकार युवराज कँडेललाई पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालय पुगेको थियो ।

साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको कोठमा पुडासैनी मृत अवस्था फेला परेका थिए। होटलको कोठा रहेको पङखामा डोरी लगाइ मृत भएको अवस्था प्रहरीले फेला पारको थियो।

पुडासैनीको मृत्यु प्रकरणमा तीन जनाविरुद्ध  उनकी श्रीमती सम्झनाले पक्राउ परेकाविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमार्फत चितवन प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

घटना हुनुअघि उनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको श्रव्यदृश्य सामग्री फेला परेको थियो ।

पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएको थियो । सो भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछानेसहित तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका थिए।भर्खरै आफूसँग टाढिएकी प्रेमिकालाई अघि सारेर रवि र युवराज कँडेलले आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका छन् ।

युवराजले अस्ट्रेलिया लैजाने युवती मिलाइदिने भन्दै ती युवतीसँग  भेट गराएको र त्यसपछि ती युवतीसँग सबै खालको सम्बन्ध भएको पुडासैनीले भिडियोमा सुनाएका छन् । ‘तर मैले न्युज ट्वेन्टी फोर छाडेपछि साथीहरुले तँलाई रवि र युवराज मिलेर फसाँउदैछन् भन्ने सुनेँ। वास्तवमा मलाई प्रेमिका, रवि र युवराज मिलेर मर्न बाध्य बनाएका हुन्’, भिडियोमा पुडासैनीले भनेका छन्।

रविलाई हिरासतमा लिईएपछि उनको समर्थनमा प्रदर्शन हुने क्रम निरन्तर जारी छ । प्रहरी र प्रदशर्नकारी  बिच झडपहरु पनि भैरहेका छन्। उक्त झडपले चितवन जिल्लामा असहज परिस्थिति सृजना भएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका ३ घर भएका २७ वर्षीय पुडासैनीको मृत्युलाई अहिले रहस्यमय रुपमा हेरिएको छ।



बुधबार ०४, भदौ २०७६ ११:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.