अप्राकृतिक रुद्राक्षको दाना बनाउन खोजिएपछि प्रहरीले हटायो प्लाष्टिकको क्लिप

Yugnepal     672 पटक पढिएको    

अप्राकृतिक रुद्राक्षको दाना बनाउन खोजिएपछि प्रहरीले हटायो प्लाष्टिकको क्लिप

भोजपुर । ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । ठेकेदारले किसानबाट बगान खरीद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो ।     
     
क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जानकारी दिए । 

षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाइ छ । प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाएको २२५ क्लिप हटाएको हो ।     
     
कृषकबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफूखुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशनअनुसार क्लिप हटाइएको प्रहरीले जनाएको छ । 

चिनियाँ व्यापारीले प्लाष्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अण्डा र थेप्चो आकारमा आवश्यकताअनुुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनभिज्ञ रहेका छन् ।

रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 



मङ्गलबार २१, साउन २०७६ ११:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.