बेलायती प्रधानमन्त्री जोन्सनलाई प्रधानमन्त्री ओलीद्वारा बधाई

Yugnepal     753 पटक पढिएको    

बेलायती प्रधानमन्त्री जोन्सनलाई प्रधानमन्त्री ओलीद्वारा बधाई


 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै बिहिबार पठाएको सन्देशमा नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गरेका छन् ।

“नेपालको बाह्य विश्वसँग दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्रराष्ट्र  बेलायत नै हो”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् , “आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ ।”

उनले हालैको आफ्नो बेलायत भ्रमणको सम्झना गर्दै “तत्कालीन प्रधानमन्त्री टेरेसा मेका साथै सांसद र व्यापारिक समुदायसँगको अन्तरक्रियाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो”, भनेका छन् ।

बेलायत सरकारले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा “नेपालमा लामो समयदेखिको राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकता निर्धारण गरेर समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा परिकल्पना गरेका छौँ । त्यसैले हामी बेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्ट्रबाट सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्चस्तरको सहयोगको अपेक्षा गर्दछौँ ।”

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री जोन्सनको कार्यकालको सफलताको कामना गर्दै तथा बेलायतका जनताको शान्ति, प्रगति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले दुई देशबीचको सम्बन्ध भावी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री जोन्सनसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने अपेक्षा गरेका छन् ।



बिहिबार ०९, साउन २०७६ ०६:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal