एसईईमा गाउँपालिकाकै प्रथम विद्यार्थी आर्थिक अभावले पढ्नबाट बन्चित

Yugnepal     852 पटक पढिएको    

एसईईमा गाउँपालिकाकै प्रथम विद्यार्थी आर्थिक अभावले पढ्नबाट बन्चित

 

प्युठान। कक्षा १ देखि नै प्रथम भइरहने झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका सागर जिसी यसवर्षको एसईईमा राम्रो अंक ल्याएर उत्तीर्ण भए। लक्ष्मी माध्यामिक विद्यालय बांगेफेदीमा अध्ययनरत उनले ३ दशमलव ५५ जीपीए ल्याए।

झिमरुक क्षेत्रमा माध्यामिक तहका ९ वटा सामुदायिक विद्यालय छन्। सयौँ विद्यार्थीलाई उछन्दै उनी गाउँपालिकाकै बढी जीपीए ल्याउने दोस्रो विद्यार्थी बने। शिक्षकका अनुसार बाल्यकालदेखि नै उनी पढाइमा लगनशील थिए। प्रतिशतमा हेर्दा उनले एसईईमा ८८ दशमलव ७५ प्रतिशत ल्याएका छन्।

विज्ञान विषय पढेर उनको डाक्टर बन्ने सपना छ। घरको आर्थिक अवस्था कमजोर भए पनि उनी राम्रो अंक ल्याएर उर्तीण भए। गरिबीका कारण जिसीको उच्च शिक्षा पढ्ने सपना अधुरै छ। आफूसँगै एसईई उत्तीर्ण गरेका साथीभाई विद्यालय भर्ना भएर पढाइलाई अघि बढाइसके। खाली समयमा धेरै साथीसंगीले ‘व्रिजकोर्स’ समेत पुरा गरे।

उनी घरमै एसईईको मार्कसिट हेरेरै दिन बिताएका छन्। तीन भाइबहिनी मध्ये उनी जेठो छोरा हुन्। आमाले पाँच वर्षअघि दोस्रो विवाह गरिन्। बुवा धर्मेन्द्र बहादुर जिसी अपांग छन्। उनी बोल्न सक्दैनन्। गाउँमा मजदुरी गरेर जीविका चलाएका छन्।

माध्यमिक तहसम्मको पढाइ जसोतसो छात्रवृतिमा पढेपनि उच्च शिक्षा पढ्न उनलाई सकस परेको छ। ‘नातीलाई पढाउन सकिएन’,५८ वर्षीय हजुरआमा निमा जिसीले भनिन्, ‘पढ्नमा राम्रो भएर के गर्नु पैसा नभएपछि।’ हजुरबुवाको तीन वर्ष अघि नै निधन भयो। सागरलाई उच्च शिक्षा पढ्न कसैले साथ दिएनन्।

१५ वर्षका उनले राम्रोसँग पढन पाए गाउँको नाम राख्ने लक्ष्य रहेको सुनाउँछन्। ‘मेरो पढाइमा कसैको साथ पाए ध्यान दिएर पढेर लक्ष्य पुरा गरेरै छाड्छु।’ आफूसितका साथीहरु काठमाण्डौँ, बुटवल, दाङ, नेपालगञ्ज लगाएत शहरका राम्रा कलेजमा भर्ना भइसकेको उनले सुनाए।



मङ्गलबार ०७, साउन २०७६ ०४:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal