महिमा साउने संक्रान्तिको लुतो फाल्ने, किसानले रमाइलो गर्ने, शिवपूजन गर्ने, हरियो लगाउने

Yugnepal     871 पटक पढिएको    

महिमा साउने संक्रान्तिको लुतो फाल्ने, किसानले रमाइलो गर्ने, शिवपूजन गर्ने, हरियो लगाउने

 

काठमाडौं । बुधबार श्रावणसंक्रान्ति । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिका रुपमा मनाइन्छ । 

यसै दिनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले दक्षिणायन सुरु हुन्छ । 

के के गरिन्छ साउन १ मा 
लुतो फाल्ने– अधिकांश नेपालीहरु खेतीकिसानीमा लाग्ने भएकाले असार महिनाभर कृषिकार्यमा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिन्छ । 

परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । 

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । 

छिमेकीहरुको नाम पुकारेर लुतो लैजा भन्ने चलन पनि छ । 

किसानको रमाइलो– एक महिनासम्म निरन्तर खेतमा काम गरेर रोपाईं गर्ने किसानहरु असारभर व्यस्त रहे । मानो रोपेर मुरी फलाउने किसानहरु असारभर थकित रहे । 

उनीहरुको रमाइलो गरेर थकान मेट्ने र दुःखसुख आदानप्रदान गर्ने दिनका रुपमा साउन १ पर्दछ । उनीहरु यस दिन आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । 

खानपिन पनि चल्ने गर्छ । मीठोमीठो खानेकुराहरु खाएर यो दिनलाई सुखद गराउने गर्छन् । 

शिवपूजन– भगवान शिवको पूजा गर्ने महिनाका रुपमा साउनलाई लिइन्छ । महिलाहरु हरिायो चुरा, हरियो पोते र हरियो सारी लगाएर सजिने गर्छन् । 

शिव भगवान प्रकृतिप्रेमी भएकाले पनि उनलाई खुशी तुल्याउन महिलाहरुले उनको आरधना गर्दा हरियो लगाउने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।

साउनलाई शिवको महिना र सोमबारलाई शिवबार पनि भन्ने गरिन्छ ।  यो महिनाभर देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ । 



बुधबार ०१, साउन २०७६ १०:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.