गिट्टी कुटेर जीवन धान्दै कुमाल दम्पती

फिचर

Yugnepal     1203 पटक पढिएको    

गिट्टी कुटेर जीवन धान्दै कुमाल दम्पती

गिट्टी कुटेर जीवन धान्दै कुमाल दम्पती

 महादेव गिरी ,धनगढी,  ११ फागुन  रामपुर नगरपालिका–६ तिलकपुर बस्ने जुद्धबहादुर कुमाल र उहाँकी श्रीमती फुलमायालाई गिट्टी नकुटेसम्म साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय छैन । 

    कालीगण्डकीका किनार, खोला छेउछाउमा दिनभर गिट्टी कुटेर कुमाल दम्पतीले जीवन धान्दै आउनुभएको छ । “बिहान उठ्यो खाना खायो, नदी खोला किनारमा पुग्यो गिट्टी कुट्यो साँझ अबेर घर फर्कने गर्छौं, यसरी नै निरन्तर जीविका चलिरहेको छ”, फुलमायाले भन्नुभयो । 

    साँझ बिहान घरको काम सकाएर दिनभर श्रीमान्सँगै गन्थनमन्थन गर्दै गिट्टी कुट्दा दिन गएको पत्तो नभएको फुलमाया बताउनुहुन्छ । “बाँचुञ्जेलसम्म श्रीमान् श्रीमती यसरी नै सँगै बसेर काम गर्न पाउँदा रमाइलो भइरहेको छ, धन कमाउनकै निम्ति अन्यत्र जानुपर्दैन”, उहाँले भन्नुभयो ।

    दिनभर श्रीमतीसँग काम गर्न पाउँदा आनन्द लागेको ५७ वर्षीय जुद्धबहादुर बताउनुहुन्छ । “गिट्टी कुटे मात्र भयो, गाडी लिएर कुटेकै ठाउँमा खरीद गर्न आउँछन्, साँझ दाम बुझ्यो घर गयो, त्यसैबाट हातमुख जोर्ने हो”, जुद्धबहादुरले भन्नुभयो । 

    कुमाल दम्पतीले गिट्टी कुटेर दिनमा रु एक हजार ५०० देखि दुई हजारसम्म कमाइ गर्नुहुन्छ । यही कमाइबाटै घरमा साँझ बिहान चुलोमा आगो बल्छ । “गिट्टी कुट्न थालेपछि छोराबुहारीसँग दुई चार पैसा माग्न परेको छैन, दुई जनाको जीवन गिट्टी कुटेरै भए पनि सुखसँग बितेको छ”, जुद्धबहादुरको भनाइ छ । सोही ठाउँका अर्का ६२ वर्षीय तुल्सीराम कुमाल पनि दिनभर नदी किनार, खोलामा ढुङ्गा बटुलेर गिट्टी कुट्नुहुन्छ । उहाँले दिनमा आठदेखि दश बोरासम्म गिट्टी कुट्नुहुन्छ । दैनिकजसो रु ५०० देखि ७०० सम्म आम्दानी गरिरहेको उहाँले बताउनुभयो । 

    “आफ्नो खर्च मज्जाले पुगेको छ, समयको सदुपयोग पनि भएको छ, अर्कासँग दुईचार पैसा माग्न परेको छैन, छोराबुहारीले पैसा माग्दा वचन लाउलान् भन्न नि परेन आफैँ कमाइ गरेपछि”, कुमालले भन्नुभयो । प्रतिबोरा रु ६० मा धमाधम गिट्टी बिक्री भइरहेको छ । जहाँ गए पनि कर्म गर्ने भएकाले विदेशतिरै जानुभन्दा आफ्नै गाउँमा बसेर पनि महीनामा हजारौँ कमाउन सकिने उहाँको भनाइ छ । 

    रामपुर नगरपालिका क्षेत्रमा घर भवन बन्ने क्रम बढ्दै गएपछि गिट्टी कुटेर आम्दानी गर्ने गतिलो माध्यम बनेको छ । आफ्नै गाउँमा गिट्टी कुट्न लाज मान्ने युवा विदेशमा गएर मरुभूमिमा कडा परिश्रम गर्न बाध्य छन् तर कुमाल दम्पतीको व्यवसाय सबैका लागि उदाहरणयोग्य छ । 
–––
 



शनिबार ११, फागुन २०७५ ११:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal