काठमाडौँ । आइसीसी महिला विश्वकप टी–२० क्रिकेटको एशिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले सनसनीपूर्ण प्रदर्शन गरेको छ ।
थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा नेपालले युएईलाई ७ विकेटले हराएको छ ।
४२ रनको लक्ष्य नेपालले १०।२ ओभरमै ३ विकेटको नोक्सानीमा पूरा गरेको हो ।
कप्तान रुबिना क्षेत्री बेल्बासीले १७ बलमा नटआउट १८ रन बनाइन् । काजल श्रेष्ठले १५ रन बनाइन् ।
यसअघि सनसनीपूर्ण बलिङ गरेको नेपालले युएई लाई ४१ रनमै समेटेको थियो । युएईले १७।३ ओभर खेलेर ४१ रन बनाएको थियो ।
चामनी सेनेभिरात्नले सर्वाधिक १३ रन बनाइन् । त्यसबाहेक कुनै पनि खेलाडीले डबल डिजिटको रन जोड्न सकेनन् ।
पूर्व कप्तान नेरी थापाले ३।३ ओभर बलिङ गर्दै १ मेडेन राखेर ६ रन खर्चेर ४ विकेट लिइन् । त्यसैगरी सीता राना मगर, कविता कुँवर र सोनु खड्काले २–२ विकेट लिए ।
छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा रहे पनि नेपाल पनि खेलमा फर्किएको छ । अबका खेलमा राम्रो प्रदर्शन गर्न सके नेपाल शीर्ष स्थानमा पुग्न सक्नेछ । यसअघि नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग५७ रनले पराजित भएको थियो भने पहिलो खेलमा मलेशियालाई ३४ रनले हराएको थियो ।
प्रतियोगिताको एशिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
प्रतिकृया दिनुहोस