विशेष अदालतले सशस्त्रका चार पूर्वमहानिरीक्षकको भ्रष्टाचार देखेन, २२ जनालाई सफाइ

Yugnepal     774 पटक पढिएको    

विशेष अदालतले सशस्त्रका चार पूर्वमहानिरीक्षकको भ्रष्टाचार देखेन, २२ जनालाई सफाइ

   

काठमाडौँ । विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त, शरदकुमार बस्नेत र वासुदेव ओलीसहित २२ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।   
     
 विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान श्रेष्ठ र प्रमोदकुमार श्रेष्ठको इजलासले सो सशस्त्रका चार पूर्वमहानिरीक्षकसहित २२ जनालाई सफाइ दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । 
     
 उनका अनुसार सामान ढुवानीका विषयमा लेखा परीक्षणसमेत भइसकेको र अख्यितारले अभियुक्तलाई स्वच्छ सुनुवाइको अवसर नदिएको देखिएको छ ।

सो अदालतमा सशस्त्र प्रहरीका लागि सामान ढुवानी गर्दा फर्जी बिल बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०७२ माघ २४ गते उनीहरु विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।     
     
 ढुवानी नगरी झुठ्ठा बिलभर्पाइ तथा कागजपत्र तयार गरी सञ्चालनमै नरहेका सत्यम् ट्रान्सपोर्टबाट समेत सामान ढुवानी गराएको भनी उक्त ट्रान्सपोर्टको समेत नक्कली बिल पेस गरी रु ८० लाख ९३ हजार ६१० बराबरको रकम सरकारलाई गैरकानूनी हानी नोक्सानी पु(याउने कार्य गरेको अख्तियारको दाबी थियो । 

भण्डार शाखाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्र श्रेष्ठसँग रु १८ लाख ३९ हजार ५१० र अदिति ट्रान्सपोर्टका सञ्चालक भरतकुमार थापासँग रु ५७ लाख २१ हजार ५७० बिगो दाबी गरेको थियो ।    



मङ्गलबार १७, असार २०७६ ११:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal