काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ुजेन–जीु आन्दोलनका क्रममा भएका भदौ २३ र २४ दुवै दिनका घटनालाई सूक्ष्म रूपमा केलाउनुपर्ने आवश्यकता औंल्याएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस नेता भीष्मराज आङ्देम्बेले उक्त आन्दोलनका घटनामा निष्पक्ष छानबिन नभएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे।
उनले संसद् भवन र सिंहदरबार जलाउनेहरूलाई सरकारद्वारा गठित जाँचबुझ आयोगले उन्मुक्ति दिएको आरोप लगाउँदै भदौ २३ को दमन र २४ को ध्वंस दुवै पक्षलाई समान रूपमा छानबिन गरिनुपर्नेमा जोड दिए। कसैले २३ गतेको प्रहरी दमन मात्र देख्ने र कसैले २४ गतेको भौतिक संरचनाको विनाश मात्र देख्ने एकपक्षीय दृष्टिकोण गलत भएको उनको ठम्याइ छ।
नेता आङ्देम्बेले जाँचबुझ आयोगले २३ गतेको घटनामा कारबाही सिफारिस गरे पनि २४ गतेको घटनाको अनुसन्धान गर्न ुसमय पुगेनु भन्नु रहस्यमय र नियतवश भएको दाबी गरे। पटक–पटक समय थपेर पनि मुख्य ध्वंसको अनुसन्धान नहुनुले आयोगको निष्पक्षतामा प्रश्न उठाएको उनले बताए।
उनले नयाँ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै जाँचबुझ आयोगको प्रतिवेदन सरकार आफैँले तुरुन्त सार्वजनिक गर्न माग गरे। प्रधानमन्त्रीले प्रतिवेदनको जानकारी गोरखापत्र पढेर थाहा पाउने कि आफैँ सार्वजनिक गर्ने भन्दै उनले सरकारलाई कानुनी मर्यादा र प्रक्रियाभित्र रहेर जिम्मेवार ढङ्गले प्रस्तुत हुन आग्रह गरे।
हाल बैठक बसिरहेको भवन वास्तविक संसद् भवन नभएको र भदौ २४ मा पुरानो भवन खरानी भएको स्मरण गराउँदै उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी काम गर्न सबैलाई आह्वान गरे। नेपाली कांग्रेस ुदोषी कोही नउम्किउन् र निर्दोष कोही नफसुन्ु भन्ने पुरानो मान्यतामा आज पनि दृढ रहेको उनले स्पष्ट पारे।
राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै वर्तमान सरकारलाई पाँच वर्ष नै काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले सुझबुझपूर्ण ढङ्गले अघि बढ्न सरकारलाई सुझाव दिए। आगामी दिनमा यस्ता ध्वंसात्मक घटना दोहोरिन नहुने गरी कानुनी र राजनीतिक समाधान खोज्न कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो।
प्रतिकृया दिनुहोस