काग्रेंस महामन्त्री शाहले लिए सक्रिय राजनितिबाट विश्राम

युग संवाददाता     26 पटक पढिएको    

काग्रेंस महामन्त्री शाहले लिए सक्रिय राजनितिबाट विश्राम

 


धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह मनुले सक्रिय राजनीतिबाट दूरी बनाउने घोषणा गरेका छन् । लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका मनुले पार्टीभित्रको वर्तमान परिस्थितिप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णय सार्वजनिक गरेका हुन् । दुई कार्यकालसम्म कैलाली जिल्ला सभापति भइसकेका तथा हाल प्रदेश महामन्त्रीको जिम्मेवारी सम्हालिरहेका मनुले अब नेपाली कांग्रेसका कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर असन्तुष्टि व्यक्त गर्दै पार्टी नेतृत्वको भूमिकामाथि प्रश्न उठाएका छन् ।


मनुले भनेका छन्, “मुलुकको वर्तमान राजनीतिमा हाम्रो पार्टीका जिम्मेवार नेतृत्वकर्ताहरुले खेलीरहेको आवश्यक अथवा अनावश्यक भूमिकाप्रति मेरो पूर्ण असन्तुष्टि रहेको छ । यस्तो चुनौतीपूर्ण अवस्थामा सिंगो नेपाली कांग्रेस एकजुट भएर उभिन नसक्दा म अत्यन्त निराश भएको छु ।” उनले पार्टी एकताबद्ध नभएसम्म आफूले कुनै पनि कार्यक्रमहरूमा सहभागिता नजनाउने निर्णय लिएको बताएका छन् । उनका अनुसार आगामी दिनमा आफू दलगत राजनीतिभन्दा टाढा रहने प्रयास गर्नेछन् । तर, उनले आफूलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध ‘विशुद्ध कांग्रेस’ कार्यकर्ता कै रूपमा रहने उल्लेख गरेका छन् । “जसले जस्तो बुझ्ला, म अब उपरान्त विशुद्ध नेपाली कांग्रेस भएर मात्र बाँच्न चाहन्छु,” उनले भने ।

मनुले पार्टीभित्र देखिएको असमझदारी र विभाजनको सम्भावनाप्रति पनि चिन्ता व्यक्त गरेका छन् । उनले यस्तो अवस्था कायम रहिरहे लोकतन्त्र, राष्ट्रियता र समाजवादप्रति आस्था राख्ने कार्यकर्ताहरूको भावनामा गम्भीर आघात पुग्ने चेतावनी दिएका छन् । उनको पारिवारिक पृष्ठभूमि समेत नेपाली कांग्रेससँग गहिरो रूपमा जोडिएको छ । उनका बाजे लोकेन्द्रबहादुर शाह २०१५ सालका सांसद तथा जिल्ला सभापति रहिसकेका थिए भने बुवा मोहनबहादुर शाह पनि पूर्व जिल्ला सभापति तथा पूर्व जिल्ला विकास समिति ९जिविस० सभापति हुन् । यसले उनको परिवार विगत करिब आठ दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेको देखाउँछ ।


यसअघि मनु गत २१ फागुनमा सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का आनन्दबहादुर चन्दसँग पराजित भएका थिए । निर्वाचनपछि उनले कांग्रेसका ५७ जना कार्यकर्ताले नेकपा उम्मेदवार प्रेम आलेबाट पैसा लिएको आरोप लगाउँदै अभिव्यक्ति दिएका थिए, जसका कारण उनी विवादमा तानिएका थिए ।

हाल उनले सक्रिय राजनीतिबाट दूरी बनाउने घोषणा गरेसँगै सुदूरपश्चिम प्रदेशको राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ । उनको यो कदमले नेपाली कांग्रेसभित्रको आन्तरिक अवस्था र असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ ।



बुधबार १८, चैत २०८२ ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal