अनि देउवाले भने– अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्छु

युग संवाददाता     43 पटक पढिएको    

अनि देउवाले भने– अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्छु

 


धनगढी ।जेन–जी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शीर्ष नेताहरूलाई पनि सहज थिएन । झण्डै दुई महिनासम्म त देउवाले राजनीतिक भेटघाट नै बन्द गरे । त्योबीचमा एकपटक कांग्रेसको केन्द्रीय समिति बैठकमा सम्बोधन गरे । अनि, उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिए । पछिल्लो दुई सातादेखि भने देउवाले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । देउवा निवास महाराजगञ्जमा अहिले उनलाई भेट्न जानेको लर्को नै लाग्ने गरेको छ । भेटघाटका क्रममा देउवाले आफू अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने संकेत गर्दै आएका थिए ।

मंगलबार देउवालाई भेट्न पुगेका थिए, नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद । उनीसँगै थिए, देउवाको गृहपालिका गन्यापधुराका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेठी देउवा, परशुराम नगरपालिका मेयर भरत बडायर जोशीलगायतका नेताहरू । ‘डडेल्धुराका जनताले उहाँको सम्मानजनक बिदाई खोजेका छन्,’ सभापति साउँदले भने, ‘डडेल्धुराका जनताकै इच्छाअनुसार सोही कारण भेटघाटका क्रममा हामीहरूले डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्नका लागि उहाँसमक्ष अनुरोध गरेका थियो । जनताको इच्छा भए अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्छु भन्नुभएको छ ।’


भेटघाटका क्रममा जिल्ला सभापति साउँद, देउवाका गृहपालिकाका अध्यक्ष कार्की र उपाध्यक्ष सेठीले देउवालाई २१ फागुनको निर्वाचन लड्न अनुरोध गरेका थिए । ‘डडेल्धुराका जनताले उहाँलाई ७–७ पटक जिताएका छन्,’ सभापति साउँदले भने, ‘उहाँमाथिको आक्रमण उहाँलाई जिताउने डडेल्धुराका जनतामाथिको आक्रमणका रुपमा हेरिएको छ । त्यसैले एकपटक फेरि जिताएर पठाउनका लागि डडेल्धुराका जनता तयार छन् ।’ जिल्ला सभापति साउँदले आजै काठमाडौंबाट फर्किएर केन्द्रीय निर्देशनअनुसार तोकिएकै मितिमा देउवाको नाम एकल रुपमा सिफारिस गर्ने तयारी रहेको बताए ।

देउवाले डडेल्धुराका युवा नेताहरूसँग पनि भेटघाट बढाएका छन् । ‘हामीहरूसँग पनि उहाँले अन्तिमपटक चुनाव लड्छु भन्नुभएको छ,’ डडेल्धुराकै एक युवा नेताले भने, ‘पार्टी र निर्वाचनमा युवाहरूको सहभागिता पनि बढ्नुपर्छ भन्ने उहाँको धारणा छ ।’

देउवा डडेल्धुराबाट सातपटक संघीय निर्वाचनमा विजयी भइसकेका छन् । २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा देउवा विजयी भएका थिए । ०६४ सालको निर्वाचनबाहेक अन्य निर्वाचनमा उनले सहज जित निकालेका थिए । ०६४ सालमा भने एक हजार ती सय मतको अन्तरले देउवाले माओवादीका खगराज भट्टलाई पराजित गरेका थिए ।



बुधबार २५, मङि्सर २०८२ ०६:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal