लिपुलेकका बारेमा भारत र चीन भ्रमणमा प्रधानमन्त्रीले कुरा उठाउनुहुन्छ: लेखराज भट्ट

युग संवाददाता     295 पटक पढिएको    

लिपुलेकका बारेमा भारत र चीन भ्रमणमा प्रधानमन्त्रीले कुरा उठाउनुहुन्छ: लेखराज भट्ट

धनगढी: नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले नेपाली भूमि लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौताप्रति आपत्ति जनाएका छन् । दुई देशबीच भदौ ३ गते नयाँ दिल्लीमा चीनका विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस।जयशंकरबीच भएको वार्तामा नेपाली भूमि लिपुलेकसम्बन्धी सम्झौता भएको थियो । प्रेस चौतारी नेपाल कैलाली जिल्ला समितिले आयोजना गरेको ‘जनसंगठनसँग प्रेस चौतारी’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका एमाले नेता भट्टले विभिन्न तथ्य र प्रमाणले लिपुलेक नेपालकै भएको पुष्टि हुने भएकाले व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने निर्णयले नेपालको सार्वभौमसत्तामाथि नाङ्गो हस्तक्षेप भएको बताए ।

‘लिपुलेक नेपालकै हो भन्नेमा हामी सबै प्रष्ट हुनुपर्छ । विभिन्न प्रमाण र तथ्यले पनि यही भन्छ । अहिले दुई ठूला देशले गरेको सम्झौता गलत मात्रै होइन, राष्ट्रियतामाथिको गम्भीर प्रहार हो,’ उनले भने, ‘हामीले यसको खुलेर विरोध गर्नुपर्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाइ सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जाँदैछन् भने त्यहाँबाट फर्किएर भारत भ्रमणमा जाने कार्यक्रम छ । एमाले सचिव भट्टले प्रधानमन्त्री ओलीले चीन र भारत दुवै देशको भ्रमणमा लिपुलेक सम्झौताबारे कुरा उठाउने बताए । उनले सरकारले कूटनीतिक नोट पनि पठाइसकेको जानकारी दिए ।

‘सरकारले कूटनीतिक नोट पठाइसकेको छ,’ भट्टले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले पनि भारत र चीन भ्रमणमा यो विषय उठाउने बताउनुभएको छ ।’ प्रधानमन्त्रीले चीन र भारत भ्रमणमा लिपुलेकबारे विषय उठाएर समस्या समाधानको पहल भइरहेको भन्दै उनले सरकारलाई अझै समर्थन र सुझाव आवश्यक रहेको बताएका थिए । सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा पनि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने निर्णय भएको थियो । एमाले सचिव भट्टले सुरुबाटै त्यसबारे विरोध जनाउँदै आएको र अहिलेको सम्झौताप्रति पनि खुलेर विरोध गर्न आवश्यक रहेको बताएका थिए ।

‘नेपालको राष्ट्रियतामाथि भारत र चिनियाँ पक्षले गरेको अत्याचार हो । यो भूमिसँग सुदूरपश्चिम भावना र मनोवैज्ञानिक रूपमा पनि जोडिएको छ,’ उनले भने, ‘हामीले आ–आफ्नो ठाउँबाट यो विषयमा गम्भीर रूपमा उठाउनुपर्छ ।’ पार्टीको नीति र निर्देशन कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको उनले बताए ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे नेता भट्टले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने उल्लेख गरे । प्रेस चौतारी नेपालका पदाधिकारी तथा सदस्यलाई पार्टीका गतिविधिमा अझै सक्रिय हुन सुझाव दिँदै उनले पार्टीका नेतामार्फत पार्टीको विचार र नीति सार्वजनिक गर्न सबैलाई आग्रह गरे ।

त्यस्तै, प्रेस चौतारीमा आवद्ध सबै पत्रकारले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए । कैलाली जिल्ला अध्यक्ष जनक विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न जनसङ्गठनका पदाधिकारी तथा सदस्य र पार्टीका प्रदेश तथा जिल्लाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।



शनिबार ०७, भदौ २०८२ ०४:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal