धनगढीः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि देखिएका कतिपय कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताएका छन्।
सो पार्टीको आइतवार धनगढीमा सुरु भएको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्वप्रधानमन्त्री नेपालले ठूलो बलिदानी र त्यागबाट प्राप्त परिवर्तनको उपलब्धि एवं जनताको शासनलाई अँध्यारोमा धकेल्ने दुष्प्रयास भइरहेको बताए। नेपालले बहुमतको आडमा मनपरी गर्छु भनेर चल्न खोजेमा पार्टीहरु बीचको सम्बन्धमा सुधार नआउने बताए।
उनले भने, “हृदय फराकिलो बनाएर देखिएका कतिपय कमीकमजोरी स्वीकार्दै सुधार गर्ने आँट गर्न सक्नुपर्छ।” उनले जनतासँग जोडिएर आन्दोलनलाई उठाउन र परिवर्तनको वाहक बनेर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। समारोहमा पूर्वप्रधानमन्त्री एवं सो पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव घनश्याम भुसाललगायतले सम्बोधन गरेका थिए। दुई दिनसम्म चल्ने अधिवेशनमा पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने बताइएको छ।
प्रतिकृया दिनुहोस