जय नेपाल कप टी–२० क्रिकेट, कैलाली बहुमुखी क्याम्पस सेमिफाइनलमा

युग संवाददाता     161 पटक पढिएको    

जय नेपाल कप टी–२० क्रिकेट, कैलाली बहुमुखी क्याम्पस सेमिफाइनलमा

 

धनगढी / सटिक बलिङ र फुर्तिलो फिल्डिङसँगै धनगढीमा जारी जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पस सेमिफाइनलमा पुग्न सफल भएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा आज बुधबार भएको खेलमा कैलाली बुहुमुखी क्याम्पसले सुदूरपश्चिमाञ्चल क्याम्पसलाई २४ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस जीतेर पहिले ब्याटिङ गर्दै कैलाली बहुमुखी क्याम्पसले बनाएको १२७ रनको सामान्य विजय लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमाञ्चल क्याम्पस १०२ रनमा खुम्चिन पुग्यो । कैलाली बहुमुखी क्याम्पसले सुशान्त कार्कीको २६, दिपक कँडेलको २३ र रोशन रावलको १३ रनको योगदानबाट निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा एक सय २६ रन बनायो ।

बलिङतर्फ सुदूरपश्चिमाञ्चल क्याम्पसका कुम्भ देउवाले ३ विकेट लिए भने सचिन मल्ल र पारस सुनारले २÷२ विकेट आफ्नो खातामा जोडे । प्रतिउत्तरमा सुदूरपश्चिमाञ्चल क्याम्पस १९ दशमलव १ ओभरमा एक सय २ रनमा अलआउट भयो । सुदूरपश्चिमाञ्चलका सचिन साउँद र विजय रानाले राम्रो ब्याटिङ गरे पनि अरु खेलाडी फितलो प्रदर्शनका कारण टिमले २४ रनको पराजय भोग्न बाध्य हुनुपर्यो । सचिनले ३८ रन बनाए भने विजय रानाले २९ रनको योगदान दिए । त्यस्तै, कुम्भ देउवाले १२ रन बनाए पनि अरु खेलाडीले दोहोरो रन अंक बनाउन नसकेपछि टिमले पराजय बेहार्नु पर्यो ।


सुदूरपश्चिमाञ्चल क्याम्पसमाथि २४ रनको विजय प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै बहुमुखी क्याम्पसका पारस रोकायाले ४ विकेट लिए । भने अभिषेक कुँवर र सुशील बिष्टको नाममा २÷२ विकेट रह्यो । सो खेलको प्लेयर अफ द म्याच कैलाली बहुमुखी क्याम्पसका पारस बने ।

नेपाल विद्यार्थी संघ, कैलालीको आयोजना र शिवपुरी युवा क्लवको प्राविधिक व्यवस्थापनमा जय नेपाल कप क्रिकेट भइरहेको छ । आयोजक नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवरका अनुसार प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख रुपैयाँ पाउने छन् । त्यस्तै, प्रतियोगिताको प्लेयर अफ द सिरिजले २५ हजार तथा उत्कृष्ट बलर र ब्याटरले जनही १५ हजार एवं उदयमान खेलाडीले १० हजार रुपैयाँ पाउने छन् । भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 



बुधबार ३०, फागुन २०८० ०१:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.