बैतडीमा देवीका मन्दिरहरुमा भक्तजनको घुइचो

युग संवाददाता     130 पटक पढिएको    

बैतडीमा देवीका मन्दिरहरुमा भक्तजनको घुइचो

बैतडी / बडादशैंको मुख्य दिन महाष्टमीका अवसरमा आज बिहानैदेखि बैतडीमा देवीका मन्दिरहरुमा भक्तजनहरुको घुइचो लागेको छ । धेरैजसो शक्तिपीठहरुमा आज बलिसहित पूजाआजा हुने भएकाले भक्तजनको घुइचो बढेको हो ।

जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दिउँसो पशु बलि सहित पूजाआजा हुने भएकाले बिहानैदेखि भक्तजनको भीड बढेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीकै दिन राँगा बाध्ने भएकाले हिजोदेखि भक्तजनको घुइचो बढेको उनले बताए ।

यस्तै जिल्लाको पुर्चौंडी नगरपालिका तल्लादेहीस्थित डिलाशैनी भगवती मन्दिरमा पनि भक्तजनको घुइचो बढेको छ । सो मन्दिरमा पनि पशु बलिसहित जात्रा हुने भएकाले भक्तजनको भीड बढेको स्थानीयहरुले बताएका छन् ।

यसैगरी डिलाशैनी गाउँपालिकास्थित कफलाशैनी भगवती मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । महानवमीका अवसरमा भोलि सो मन्दिरमा पशु बलि सहित पूजाआजा हुने गरेको मन्दिरका मुखिया दुर्गादत्त जोशीले बताए ।

यस्तै जिल्लाको पुर्चौंडी नगरपालिका ८ मल्लादेहीस्थित डिलाशैनी भगवती मन्दिरमा पनि भक्तजनको घुइचो बढेको छ । महाष्टमीका अवसरमा बलिका लागि राँगा बाध्ने र विजयादशमीका दिन पशु बलि दिने चलन रही आएको मन्दिरका पूजारी हरिशचन्द्र भट्टले बताए । यस्तै जिल्लाको प्रसिद्ध त्रिपुरासुन्दरी र मेलौली भगवतीमा पनि दर्शनार्थीको संख्या बढेको स्थानीयहरुले बताएका छन् । 



सोमबार १७, असोज २०७९ ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.