रानाथारु समुदायलाई छुँदैन दसैँले

युग संवाददाता     63 पटक पढिएको    

रानाथारु समुदायलाई छुँदैन दसैँले

धनगढी /  यतिबेला गाउँदेखि सहरसम्म दसैँको उमङ्गले छाएको छ । कामविशेषले घरबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । दसैँ मान्न विदेशमा रहेकाह? समेत घर फर्केपछि दसैँको रौनक अझ बढेको छ । छिमेकी टोलबस्तीमा दसैँको रौनकता छाउदा धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँको रानाथा?बस्तीलाई भने दसैँको उमङ्गले छोएको छैन ।

रानाथारु समुदायले न दसैँको जमरा राखेका छन्, न बस्तीमा दसैँको उल्लासनै छ । गाउँमा कुनै अप्रिय घटना भएर यो समुदायलाई दसैँले नछोएको होइन, उनीहरुले दसैँ नमान्नुको कारण बेग्लै छ । नेपाली हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व हो दसैँ । सुन्दा अनौठो लाग्नसक्छ, हिन्दू धर्मावलम्बी भएर पनि आदिवासी रानाथा? समुदायले भने दसैँ पर्व मनाउँदैनन् 

तिहार, होली, कृष्ण जन्माष्टमी, तीजजस्ता धार्मिक पर्वहरु धुमधामसँग मनाउने रानाथारु समुदायमा दसैँ मनाउने परम्परा छैन । ‘हामीले न जमरा राख्छौँ, न दसैँ मान्छौँ । हाम्रो समुदायमा दसैँ मनाउने परम्परानै छैन ।’ कैलाली गाउँको रानाथा? बस्तीका भल्मन्सा मोली रानाले भने, ‘छरछिमेकमा अरु समुदाय दसैँको उमङ्गमा हुँदा हामी आफ्नै कामधन्धामा व्यस्त हुन्छौँ ।’ रानाथारु समुदायमा दसैँ मनाउने परम्परानै नरहेको उनले बताए ।

धनगढी उपमहानगरपालिका–१७, उर्माको रानाथारु गाउँमा पनि दसैँको कुनै उल्लास देखिदैन । छिमेकमै थारु समुदायका व्यक्तिहरु उल्लासपूर्वक दसैँ मनाउने तयारीमा छन् । रोजगारी, अध्ययन आदि विभिन्न शिलशिलामा घर बाहिर रहेका अधिकांश घर फर्किसकेका छन् । रानाथारु समुदायका स्थानीय भने आफ्नो नियमित काम व्यस्त छन् । उर्मा गाउँका अगुवा रामसमझ राना सामाजिक प्रभावले आफ्नो समुदायका कतिपय व्यक्तिले दसैँप्रति चाँसो दिने र दसैँका अवसरमा हुने मेलामहोत्सवमा सहभागी हुन थाले पनि जमरा राखेर दसैँ मनाउने सुरुवात भने नभएको बताउँछन् ।

दसैँ नमनाउनुमा परापूर्व कालमा आफ्नो समुदायमा दसैँका बेला भएको एउटा घटना कारक रहेको जनविश्वास रहीआएको यो समुदायका अगुवा बताउँछन् । परापूर्व कालमा घटस्थापनाकै दिन रानाथारु समुदायको अगुवाको घरमा मानिसको मृत्यु भएपछि त्यस दिनदेखि दसैँ मनाउन छोडिएको किंबदन्ती रहेको रानाथारु समुदायका अगुवा धनबहादुर रानाले बताए । ‘परापूर्व कालमा भएको त्यही घटनालाई मनमा राखेर त्यस दिनदेखि दसैँ मनाउन छोडिएको जनविश्वास रहेको छ ।’ राना भन्छन्, ‘त्यस्तै अर्को घटनाको कारणले छोरा र छोरीको विवाह एकै दिन गर्नु हुँदैन भन्ने मान्यता पनि हाम्रो समुदायमा छ ।’ 

तराइका आदिवासी थारु समुदायमा छोरा र छोरीको विवाह एकै दिनसमेत गर्ने चलन छ । रानाथारु भने एउटै घरका छोरा र छोरीको विवाह एकै दिन गर्ने चलन छैन । जनविश्वासअनुसार परापूर्व कालमै रानाथारुको एक परिवारमा छोरा र छोरीको विवाह एकै दिन भएको थियो । छोरी अन्माएर बुहारी भित्तयाएको केहीबेरमै छोराको मृत्यु भयो, त्यही दिनदेखि छोरा र छोरीको विवाह एकै दिन गर्न नहुने चलन बसेको जनविश्वास रानाथारु समुदायमा छ ।

दसैँका बेला यो समुदाय केही समय आफ्नो कुल देवताको पूजाआजामा व्यस्त रहन्छ । असोज महिना आँैसीको तेस्रो दिन रानाथारु समुदायको देउता ‘भुँइया माता’को पूजा सुरु हुन्छ । रानाथारु समुदायले गाउँको दक्षिणतिर वनजंगल, नदी किनारको छेउछाउमा पूजा गर्ने स्थान बनाएका हुन्छन्, जहाँ माटोले बनाइएको भुँइया माताको मूर्ति राखिएको हुन्छ । गाउँमा कसैको विवाह हुँदा परिवारका मान्छेले पहिले त्यही मूर्तिको पूजा गर्ने चलन छ ।

असोजमा औँसीको तेस्रो दिन गाउँका जिमदारले चौकीदारलाई माटोले भुँइया माताको मूर्ति लिपपोत गर्न लगाउँछन् । त्यस दिन बेलुका गाउँको जिम्दारले आफ्नो घरमा कुल देवताको पूजा गर्छन् ।     जिम्दारले पूजा गरेको दोस्रो दिन बेलुका समुदायका सबैले आ–आफ्नो घरमा पूजा गर्ने चलन रहीआएको कैलाली गाउँका भल्मन्सा मोली रानाले जानकारी दिए । उनका अनुसार दीप प्रज्वलनसँगै धानको बाला चढाएर आफूले मान्ने कुल देवताको पूजा गरिन्छ ।

वर्षमा साउन र भदौ महिनामा देउता घुमफिरमा जाने गरेको विश्वास रानाथारु समुदायमा छ । असोज महिनामा आँैसीको तेस्रो दिन भुँइया माताको पूजा गरेसँगै देउता फिर्ता भएर आउने जनविश्वास रहीआएको रानाले बताए । दसैँ मनाउने परम्परा नरहे पनि हिजोआज भने दसैँको रौनकले रानाथारु समुदायलाई पनि अलिअलि छुन थालेको शिक्षक मोतिराम राना बताउँछन् । दसैँका बेला विभिन्न मठमन्दिर र शक्ति पीठह?मा हुने पूजाआजामा रानाथारु समुदायका कतिपय व्यक्तिहरु सहभागी हुन थालेका उनले बताए । ‘अन्य समुदायको प्रभाव हाम्रो समुदायमा पनि देखिन थालेको छ । जमरा नराखे पनि धर्मप्रति धेरै आस्था राख्ने कतिपय बुढापाकाहरु मठमन्दिरमा गएर पूजापाठमा जान थालेका छन् ।’ मोतिरामले भने, ‘जमरानै राखेर दसैँ मनाउने चलन भने सुरु भइसकेको छैन ।’ 

रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व होरी (होली) हो । यो समुदायले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्दछन् । फागु पूर्णिमाको एक महिनाअघि माघ पूर्णीमादेखिनै रानाथा? समुदायमा होली मनाउन सुरु हुन्छ । एक महिनासम्म राती नाचगान गरेर मनाउने चलन छ । फागु पूर्णीमाको दिन होरिका जलाउनुअघि मनाउने होलीलाई रानाथारु समुदायले ‘जिउँदो होरी’ भन्छ । गाउँभरिका मानिस राति एक ठाउँमा जम्मा भएर होरी गीत गाउँदै र होरी नाच नाच्दै रमाइलो गर्छन् । रानाथारु समुदायमा होरी नाच निकै प्रख्यात मानिन्छ ।

होलिका दहनपछि आठ दिनसम्म ‘मरेको होली’ मनाउने चलन रहेको रानाथा? संस्कृतिका अध्यता जिवन रानाथारुले बताइन् । जीउँदो होरीमा नाचगान गर्दा रानाथारुले परम्परागत पोशाक लगाउँदैनन् । मरेको होरीका बेला भने परम्परागत पोशाक र गरगहना लगाउने चलन रहेको उनले बताइन् । रानाथारु महिलाले मनाउने ठूलो पर्व हो तिज । उनीहरुले साउनमै तिज मनाउँछन् । महिलाहरु आफ्नो पतिको दीर्घायुका लागि र अविवाहिताले सुयोग्य वर प्राप्तिको कामनाका लागि तीजमा ब्रत बस्ने गर्छन् । रानाथारु समुदायमा भने तिज मनाउनुको उद्देश्य र मान्यता फरक छ ।

रानाथारु महिलाहरु आफ्ना दाजुभाइको दीर्घायु र सुखशान्तिका लागि तीजमा ब्रत बस्छन् । तीजमा ब्रत बस्दा दाजुभाइको आयु बढ्ने विश्वास रहीआएको धनगढी बेलादेवीपुरकी सिर्जना रानाले बताइन् । साउने संक्रान्तिका दिन दाजुभाइले दिदीबहिनीहरुका लागि ‘डोला’ राखेसँगै तिज सुरु हुन्छ । पिङलाई रानाथारु भाषामा डोला भनिन्छ । महिलाहरु पिङ खेल्दै परम्परागत गीतहरु गाएर तीजमा रमाइलो गर्ने गर्दछन् । तीजका दिन महिलाह? अंगिया, घघरिया, पैडा, नथबेसर, कठुल्ला, कैधनी, घुँघट, साम, उनीया, गुर्खालगायत घाँटीदेखि खुट्टासम्मका परम्परागत पहिरन र आभुषणले सजिएका हुन्छन् ।

लामो समय माइती भेट्न नपाएकाहरु माइत आउने भएकाले विवाहिता छोरीचेलीहरुका लागि वर्षभरिको सुखदुख साटासाट गर्ने अवसरका रुपमा पनि रानाथारु समुदायले यो पर्वलाई लिने गर्छन् । आदिवासीमा सूचीकृत रानाथारु समुदायको बसोबास देशभर कैलाली र कञ्चनपुरमा मात्र रहेको छ । रानाथारु समाजका अनुसार दुई जिल्लामा रानाथारुको जनसंख्या करिब तीन लाख रहेको छ । २०७८ को जनगणनामा पहिलो पटक रानाथारुको गणना छुट्टै गरिएको छ । त्यसको विवरण भने सार्वजनिक भइनसकेको समाजका अध्यक्ष कृपाराम रानाले बताए ।



आइतबार १६, असोज २०७९ ०७:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2022
Anubhabi Technologies Pvt. Ltd.