सुदूरपश्चिममा ४० प्रतिशतमात्रै रोपाइँ

युग संवाददाता     310 पटक पढिएको    

धनगढी / जेनतेन रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो । लामो खडेरी भएपछि कतिपय किसानले बिचमै रोकी सकेका थिए, रोपाइँ । त, धेरै जसोले रोपाइँ नै सुरु गर्न सकेका थिएनन् । 

तर, मङ्गलबार विहान मुसलधारे पानी प¥यो । पानी परेपछि किसानलाई राहत भएको छ । सुख्खाका कारण रोपाइँलाई अगाडि बढाउन नसकेका उनीहरु अब खेतीपातीको काममा अग्रसर भएका छन् । ‘पानी परेपछि धमाधम रोपाइँको काम सुरु गरेका छौं’, धनगढी उपमहानगरपालिका–८ का कृषक दानसिंह रानाले भने । 

मङ्गलबारको मनसुनी वर्षाको पानी खेतमा जमेपछि खेतैभरि किसान देखिन थालेका छन् । वर्षाले धेरै साथ दिएको उनीहरुको भनाइ छ । पानी परेपछि रोपाइँ गर्न सजिलोे भएको कैलारी गाउँपालिका–५ पवेराका कृषक सरोज कठरियाको भनाइ छ । ‘यसैगरी पानीले साथ दिएमा अबको केही दिनभित्रै रोपाइँको काम सम्पन्न गर्छौ’, उनले भने ।

उनका अनुसार बोरिङले रोपाइँ गर्दा किसानले ठूलो खर्च झेल्नु पर्छ । ‘डिजल महँगो छ, हामी किसानलाई डिजल किन्न नै समस्या हुने गर्दछ’, उनले थपे । ‘पानी परेपछि अब ठूलो खर्च जोगिन्छ ।’पानी परेसंगै जिल्लाको सबैतिर किसानले रोपाइँ गर्न थालेको कृषि ज्ञान केन्द्र कैलालीले जानकारी दिएको छ । यसवर्ष हालसम्म कैलालीमा ३० प्रतिशत रोपाइँ भएको सो कार्यालयले जनाएको छ ।

पछिल्लो केही दिनयता वर्षा भएपछि रोपाइँ प्रतिशत बढेको केन्द्रले जनाएको छ । किसानलाई मनसुनले पनि साथ दिएका कारण मङ्गलबारसम्म ३० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माले बताए ।

‘असार १५ अर्थात रोपाइँ दिवससम्म ४०÷४५ प्रतिशत रोपाइँ पूरा हुने अनुमान गरेका छौं’, उनले भने । ‘मनसुनी वर्षाले साथ दिएपछि लगभग सबै किसान रोपाइँमा व्यस्त भएका छन् ।’ गएको शनिबार जिल्लाको मध्य–पूर्वी क्षेत्रमा मुसलधारे वर्षा भएको थियो । मङ्गलबार जिल्लाभरि वर्षा भएपछि किसानलाई रोपाइँ गर्न भ्याइ नभ्याइ भएको छ ।

जिल्लाको मध्य–पूर्वी क्षेत्रका किसानले असार पहिलो साताबाटै रोपाइँको काम थाले पनि आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका धनगढी क्षेत्रका किसान भने बल्ल खेतीपातीको काममा लागेका छन् । रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा उपभोग गर्दै आएका पूर्वी क्षेत्रका किसानले आधाभन्दा बढी रोपाइँ गरिसका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा सबैभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । ती पालिकाहरुका किसानले लगभग ५० प्रतिशत रोपाइँ गरिसकेको कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए । 
 



बुधबार १५, असार २०७९ ०९:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.