मधेस प्रदेशको आर्थिक अवस्था सुधारका लागि राष्ट्र बैंकको सुझाव

युग संवाददाता     130 पटक पढिएको    

मधेस प्रदेशको आर्थिक अवस्था सुधारका लागि राष्ट्र बैंकको सुझाव

 

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मधेस प्रदेशको आर्थिक अवस्था सुधारका लागि विभिन्न सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले प्रदेशभित्र रहेका आर्थिक चुनौतीहरू औँल्याउँदै त्यसको समाधानका लागि विभिन्न क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

प्रतिवेदन अनुसार, मधेश प्रदेशमा स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, दक्ष चिकित्सक र स्वास्थ्य उपकरणको अभावले सीमावर्ती क्षेत्रका नागरिक भारतीय अस्पतालमा उपचार गराउन बाध्य छन्। यसले भारतीय रुपैयाँको माग पनि बढाएको छ। यस चुनौतीको सामना गर्न अस्पतालमा आवश्यक उपकरण, दक्ष चिकित्सक र जनशक्तिको व्यवस्थापनमा लगानी बढाउनुपर्ने सुझाव दिइएको छ।

त्यसैगरी, सरकारी विद्यालयहरूको गुणस्तर सुधार, व्यावसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता र ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रहरूलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनु पनि चुनौतीका रूपमा देखिएको छ। जनकपुर र वीरगञ्जजस्ता व्यापारिक सहरलाई शैक्षिक हबका रूपमा विकास गरी शैक्षिक गुणस्तरमा सुधार गर्नु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

कृषि क्षेत्रमा, किसानहरू बिचौलियामा निर्भर रहनुपर्ने बाध्यतालाई हटाउन उचित बजार पहुँच विस्तार गर्नुपर्ने र कृषि उपजको उचित मूल्य सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। माछापालनका लागि प्रसिद्ध जनकपुर र परवानीपुरजस्ता क्षेत्रमा माछा उत्पादन क्षमता थप अभिवृद्धि गर्नुपर्ने सुझाव दिइएको छ। परम्परागत निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै मलखादको सुलभ आपूर्ति, उत्पादित अन्नको उचित मूल्य र बजार व्यवस्थापन गरी युवाहरूलाई कृषिमा आकर्षित गर्नु जरुरी रहेको प्रतिवेदनले देखाएको छ।

प्रदेशबाट दक्ष जनशक्ति विदेश पलायन हुने प्रवृत्ति बढ्दै गएकाले सेवा क्षेत्र सञ्चालनका लागि प्राविधिक, स्वास्थ्यकर्मी, शिक्षक र सूचना प्रविधिविज्ञको व्यवस्था गरी रोजगारीको वातावरण सृजना गर्नु चुनौतीपूर्ण रहेको पनि उल्लेख गरिएको छ।

सहरी क्षेत्रमा जताततै थुप्रने फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रण गर्दै प्रदेशलाई सुन्दर र आकर्षक पर्यटकीय प्रदेशका रूपमा विकास गर्नुपर्ने सुझाव पनि दिइएको छ।

वैदेशिक रोजगारीमा रहेका युवाबाट प्राप्त विप्रेषणलाई स्थानीय तहको समन्वयमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ। भौगोलिक तथा धार्मिक सम्पदा, जैविक विविधता आदिको उचित संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गन्तव्य क्षेत्रका रूपमा विकास गर्न जानकी मन्दिर, पर्सा वन्यजन्तु आरक्ष, कोशीटप्पु वन्यजन्तु आरक्ष, सिन्धुलीको युद्ध सङ्ग्रहालय र भरत ताललगायत क्षेत्रको संरक्षण र संवर्द्धन गरेर आर्थिक गतिविधि बढाउनुपर्नेमा केन्द्रीय बैंकले जोड दिएको छ।

प्रतिवेदनले मधेश प्रदेशमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू जस्तै हुलाकी राजमार्ग, काठमाडौँ–निजगढ द्रुतमार्ग, राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम तथा निजगढ अन्तरराष्ट्रिय विमानस्थलजस्ता परियोजनाहरू विभिन्न सरोकारवाला निकाय तथा क्षेत्रहरूबीच समन्वय कायम गर्दै निर्धारित लागत र समय तालिकाभित्र सम्पन्न गर्ने कार्य चुनौतीपूर्ण रहेको ठहर गरेको छ।

अन्तमा, मधेश प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गरी सीमान्तकृत वर्गमा वित्तीय पहुँच विस्तार गर्नु, र आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनु जरुरी रहेको अध्ययनले देखाएको छ।



आइतबार ०८, असार २०८२ ०४:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal