पोखरा । कोटीहोमका नाममा स्वीकृत नलिई काटिएका दाउरा पोखरा महानगरपालिकाले आज जफत गरेको छ । महिनौँ दिन लामो कोटीहोमका लागि कुनै स्वीकृति नदिएको र अनधिकृत रुपमा रुख काटिएको भन्दै महानगरपालिकाले दउरा जफत गरेको हो ।
महानगरीय प्रहरी बलका प्रमुख नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाको नेतृत्वमा करिब सय टन काठ दाउरा नियन्त्रणमा लिई दमकल राख्ने जग्गामा ल्याएर राखिएको महानगरपालिकाले जनाएको छ ।
कोटीहोम लगाउने भन्दै मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न ऐतिहासिक चौतारीका पुराना वर पीपललगायतका रुख काटेको थियो । फाउन्डेसनले अनधिकृत रूपमा रुख कटान गरी दाउरा बनाएर नेपाल ट्रस्टको जग्गामा राखेको थियो ।
धमाधम रुख कटान हुन थालेपछि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
केही दिन मौन रहेको पोखरा महानगरपालिका चर्को दवावपछि मात्रै बोलेको थियो । एक सूचना प्रकाशित गरी अनधिकृत रूपमा रुख काट्नेमाथि कारबाही हुने महानगरपालिकाले जनाएको थियो ।
त्यसअघि नगर प्रमुख धनराज आचार्यले रुख कटान वातावरणीय सन्तुलनका हिसाबले समेत हानिकारक रहेकोले कटान गर्ने उपर कानूनी कारबाही हुने बताएका थिए । उनले स्वीकृति नलिइ गर्न लागिएको कोटीहोम हुन नदिने स्पष्ट पारेका छन् ।
उनले भने, ‘पोखरा फागुनमै दुईटा महायज्ञ हुँदैछ, पुम्दीकोटमा फागुन ७ देखि १५ सम्म र सराङकोटमा फागुन १४ देखि २१ गतेसम्म महायज्ञ हुँदैछ, कोटिहोम चाहीँ पोखरामा हुँदैन ।’
उनले थपे, ‘केही अघि पनि वातावरणीय प्रदुषण भएर निकै समस्या परेको थियो, अहिले महिनौँ कोटीहोम लगाएर फेरि त्यस्तै अवस्था निम्त्याउन दिँदैनौँ, फेवातालको आडमा चार महिना लामो कोटीहोम लगाउन सम्भव पनि छैन ।’
प्रतिकृया दिनुहोस