तरकारीको मूल्य दोब्बरले महँगियो

युग संवाददाता     1036 पटक पढिएको    

तरकारीको मूल्य दोब्बरले महँगियो

कञ्चनपुर माघ २६ । हिउँदे वर्षाले तरकारी खेतीमा क्षति पुर्‍याएपछि तरकारीको मूल्य अकासिएको छ । दुई साताको अवधिमा तरकारीको मूल्य दोब्बरले महँगिएको हो । महेन्द्रनगस्थित सब्जिमण्डीमा तरकारी किन्न आएका उपभोक्ताले केही दिनकै बीचमा सबैजसो तरकारीको मूल्य बढेको बताए ।

अहिले काउलीको मूल्य प्रतिकिलो १ सय, टमाटरको ८०, प्याजको ४० रुपैयाँ पुगेको छ । जबकि अहिले काउली र टमाटरकै सिजन हो । यसैगरी, हरियो खुर्सानीको १ सय, भेडे खुर्सानी १२० र आलुको मूल्य प्रतिकिलो ४० रुपैंया पुगेको छ । आलुबाहेक सबै तरकारीको मूल्य निकै बढेको व्यवसायीहरू पनि बताउँछन् । ‘लगातारको वर्षाले काउलीलगायत तरकारी बिग्रेको छ, यही भएर अहिले पाउनै गाह्रो भएको छ,’ सब्जीमण्डीका तरकारी व्यवसायी वीरेन्द्रराज जोशीले भने, ‘एक हप्तामै मूल्य दोब्बर भएको छ ।’

उनका अनुसार अहिले महेन्द्रनगर बजारमा बन्दा, काउली, खुर्सानी, टमाटरलगायत तरकरी स्थानीय क्षेत्रबाटै उत्पादन भई आइरहेको छ । तर सिजनमै वर्षाले क्षति पुगेपछि किसानसमेत चिन्तामा छन् । यसअघि कात्तिक पहिलो साता पनि वर्षाले हिउँदे तरकारीमा निकै क्षति पुगेको थियो ।
अहिले सिजनको पहिलो लट उत्पादन सकिएर दोस्रो लटको उत्पादन बजारमा आइनसकेको अवस्थामा मुल्य एकाएक बढेको सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले बताए । उनका अनुसार कात्तिक पहिलो साताको वर्षाले धेरै तरकारी नोक्सान गरेका कारण हिउँदमा पहिलो लटमा हुने उत्पादनमा निकै ह्रास आएको छ । जसका कारण अहिले अभाव भएर मूल्य वृद्धि भएको हो । ‘हिउँदमा हुने उत्पादनको पहिलो लट सकिएर दोस्रो लट बजारमा आउन नसकेको अवस्था छ,’ अध्यक्ष सोनारले भने, ‘दोस्रो लटको उत्पादन बजारमा नआउँदासम्म मूल्य घट्ने सम्भावना देखिँदैन ।’



बुधबार २६, माघ २०७८ ०२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.